सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारको विस्तृत अनुसन्धान जारी
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद प्रकरणमा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले गोकुल बाँस्कोटासमेत आरोपित रहेको सेक्युरिटी प्रेस खरिदसम्बन्धी विषय आयोगको विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिए।
सार्वजनिक लेखा समितिबाट प्राप्त करिब १० वटा निर्देशनमध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणलाई आयोगले अध्ययन गरिरहेको उनले बताए।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशनका आधारमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित दुई–तीनवटा उजुरी पनि विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको मैनालीले जानकारी दिए।
रौतहटको दुर्गा भगवती गाउँपालिका कार्यालयसँग सम्बन्धित विषयमा भने अनुसन्धान पूरा गरी मुद्दा दायर भइसकेको उनले बताए।
मैनालीका अनुसार आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य आर्थिक वर्षमा अदालतबाट फैसला भएका मुद्दामा कसुर कायम हुने दर ७० प्रतिशतभन्दा माथि रहेको छ।
विशेष अदालतबाट कसुर कायम नभई सफाइ पाएका मुद्दामा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्दै आएको पनि उनले जानकारी दिए।