राष्ट्रिय स्वाधीनता र जनजीविकाको रक्षा वर्तमान सरकारबाट असम्भव: हेमन्तप्रकाश ओली 'सुदर्शन'
घोराही (दाङ) - क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले वर्तमान सरकारलाई ‘साम्राज्यवादको कठपुतली’को संज्ञा दिँदै यसले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न नसक्ने दाबी गर्नुभएको छ। सोमबार घोराहीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति दाङद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सुदर्शनले राष्ट्रिय स्वाधीनता, जनजीविका र मुलुकको समग्र राजनीतिक दिशाबारे गम्भीर प्रश्न उठाउनुभएको हो।
पत्रकार सम्मेलनमा प्रवक्ता सुदर्शनले हालै सम्पन्न पार्टी पोलिटब्युरो बैठकका निर्णयहरू, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय राजनीतिक परिस्थिति र संयुक्त मोर्चा निर्माणबारे पार्टीको अवधारणा स्पष्ट पार्नुभयो। उहाँले राष्ट्रिय हित र स्वाधीनताको पक्षमा पार्टीले सदैव महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै जनताका प्रमुख मुद्धाहरूमा पार्टी निरन्तर अग्रणी भूमिकामा रहने बताउनुभयो। अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै सुदर्शनले इरान, इजरायल र अमेरिकाबीचको क्षेत्रीय तनाव, रुस-युक्रेन युद्ध, अमेरिका तथा चीन-रुसबीचको शक्ति संघर्ष र विश्वव्यापी आर्थिक संकटलाई कम्युनिस्ट आन्दोलनसँग जोडेर व्याख्या गर्नुभयो। यस्ता द्वन्द्व र शक्ति संघर्षका कारण महँगी, मुद्रास्फीति र बेरोजगारी बढे पनि विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलन पुनः संगठित हुने सम्भावना बलियो बनेको उहाँको भनाइ थियो।
राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै प्रवक्ता सुदर्शनले वर्तमान सरकारको कार्यशैली, लोकतन्त्रको अवस्था, सुकुम्बासी समस्या तथा भारतसँग भएका सम्झौताहरूको तीव्र आलोचना गर्नुभयो। राष्ट्रिय स्वाधीनता र जनसरोकारका सवालमा राजनीतिक दलहरूले स्पष्ट र दृढ दृष्टिकोण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। कार्यक्रममा पार्टीका वैकल्पिक पोलिटब्युरो सदस्य अम्बिका चन्द र केन्द्रीय सदस्य नारायण भण्डारीको समेत उपस्थिति रहेको थियो।
सोही अवसरमा कार्यक्रमका अध्यक्ष तथा दाङ जिल्ला सेक्रेटरी मोतीराम खड्काले सुकुम्बासी तथा मिटरब्याजपीडितका गम्भीर समस्याहरूमा पार्टी निरन्तर संघर्षरत रहेको बताउनुभयो। सेक्रेटरी खड्काले पीडित जनताको पक्षमा आवाज उठाउन पार्टी कहिल्यै पछि नहट्ने स्पष्ट पार्दै पीडितमाथि अन्याय गर्ने र शोषण गर्नेहरूलाई कडा कारबाहीको दायरामा ल्याउनुपर्नेमा विशेष जोड दिनुभयो।
त्यसैगरी पार्टीका दाङ जिल्ला इन्चार्ज होमबहादुर खड्का ‘हुकुम’ले सुकुम्बासी र मिटरब्याजपीडितले भोगिरहेका आधारभूत समस्याहरूलाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याउनुपर्ने धारणा राख्नुभयो। जिल्ला इन्चार्ज हुकुमको सञ्चालनमा सम्पन्न उक्त पत्रकार भेटघाट कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र सञ्चारकर्मीहरूको ठूलो सहभागिता रहेको थियो।
पत्रकार भेटघाट कार्यक्रमको समापन लगत्तै प्रवक्ता सुदर्शनले दाङ जिल्लाका पार्टी सदस्यहरूलाई पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकका निर्णय, भावी नीति, कार्यक्रम तथा समसामयिक राजनीतिक विषयहरूमा विशेष प्रशिक्षणसमेत दिनुभएको थियो।