नाग पञ्चमी पर्वमा श्रद्धालुको भीड
काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभर धार्मिक श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। नाग पञ्चमीका अवसरमा घरको मूलढोकामाथि वा ढोकाको दायाँबायाँ नागको चित्र टाँसेर विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर नाग, सर्प, बिच्छीलगायत विषालु जीवको भयबाट मुक्त हुनुका साथै आगलागी, चट्याङजस्ता प्राकृतिक प्रकोपबाट घरपरिवार सुरक्षित रहने विश्वास गरिन्छ। नागको चित्रमा पूजा तथा अर्चना गरी नागप्रति श्रद्धा व्यक्त गर्ने चलन पनि छ।
नाग पञ्चमीकै अवसरमा काठमाडौंको नक्सालस्थित नागपोखरी, ललितपुरको नागदह र भक्तपुरको नागपोखरीमा बिहानैदेखि पूजाआजा तथा दर्शनका लागि श्रद्धालुको भीड लागेको छ। भक्तजनहरू नागको पूजा तथा अर्चना गरी सुख, शान्ति र परिवारको सुरक्षाको कामना गरिरहेका छन्।
नागलाई हिन्दू धर्ममा पूजनीय देवताका रूपमा मानिन्छ। विशेषगरी वर्षायाममा नाग तथा सर्पको गतिविधि बढ्ने भएकाले पनि नाग पञ्चमीमा नागको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ।