रसुवाबाट उद्धार गरिएका बाढीपीडित बोकेको बस डण्डामा दुर्घटना, ३२ जना घाइते
नवलपरासी पूर्व । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार गरिएका बाढीपीडितलाई लिएर बर्दियातर्फ जाँदै गरेको यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
रसुवाबाट उद्धार गरी काठमाडौं ल्याइएका बाढी प्रभावितलाई बोकेर बर्दियातर्फ जाँदै गरेको लु प्र ०१–००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार बसमा ३८ जना सवार थिए । दुर्घटनामा घाइते भएका ३२ जनामध्ये २७ जना उपचारपछि घर फर्किएका छन् भने पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु विक र रुकुम पूर्वकी ममता परियारको मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपरासी पूर्वमा उपचार भइरहेको छ ।
यस्तै, सुर्खेतकी रीता गन्धर्वको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।