बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त हुँदै
हेटौँडा — नेकपा एमालेका सांसद किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने भएका छन्।
एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा बुधबार मुख्यमन्त्री पदमा दाबी पेस गरेका थापा मगरलाई प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री नियुक्त गर्ने जनाएको छ।
प्रदेश प्रमुख कार्यालयका अनुसार थापा मगरलाई अपराह्न ४ बजेर ५ मिनेटमा मुख्यमन्त्री नियुक्त गरिनेछ भने ४ बजेर २० मिनेटमा शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ।
राप्रपाले भने पार्टीको बागमती प्रदेश संसदीय दलका नेताले दिएको समर्थनपत्रलाई मान्यता नदिन प्रदेश प्रमुखसमक्ष आग्रह गरेको थियो। तर प्रदेश प्रमुखले राप्रपासहितको समर्थनमा थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्न लागेका हुन्।
बागमती प्रदेशमा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाको गठबन्धनसँग बहुमतका लागि दुई सांसद अपुग भएपछि १२ सांसद रहेको राप्रपाको समर्थन जुटाइएको हो।
यसैबीच राप्रपा तीन मन्त्रालय लिएर प्रदेश सरकारमा सहभागी हुने भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको अवस्थामा बागमतीमा भने उक्त निर्णयविपरीत सरकारमा सहभागी हुन लागेपछि राप्रपाभित्र विवाद उत्पन्न भएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्णयविपरीत कदम चाल्ने नेतामाथि अनुशासनको कारबाही गरिने चेतावनी दिँदै आएका छन्। बागमती सरकारमा सहभागी हुने निर्णयले पार्टीभित्रको विवाद थप चर्किने देखिएको छ।