पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति माधव नेपालको आपत्ति
नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत श्रेष्ठको गिरफ्तारी र घरमा खानतलासीका नाममा भएको प्रहरी गतिविधि आपत्तिजनक भएको बताएका हुन्।
नेपालले कानुनी शासन र प्रेस स्वतन्त्रताको सम्मान हुन नसके मुलुक थप समस्यामा फस्ने चेतावनी दिएका छन्। श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। गोपनीयता भंग गरेको आरोपमा हिरासतमा रहेका श्रेष्ठविरुद्ध अदालतले तीन दिनको म्याद थप गरेको छ।
श्रेष्ठकी श्रीमतीले रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दायर गरेकी छन्। उक्त निवेदनको पेसी शुक्रबार तोकिएको छ।