भोटेकोशी बाढी : ४६९ जनाको शव फेला, १ हजार ५४५ जनाको उद्धार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहानसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ४६९ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका शव रसुवासहित तल्लो तटीय क्षेत्रका विभिन्न आठ जिल्लामा फेला परेका हुन्। सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा मात्रै १७८ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी (पूर्व) मा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी (पश्चिम) मा २७ र रसुवामा १२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीपछि बेपत्ता तथा जोखिममा परेका नागरिकको खोजी र उद्धार कार्यलाई सुरक्षाकर्मीले निरन्तरता दिएका छन्। हालसम्म बाढी प्रभावित क्षेत्रबाट १ हजार ५४५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नुवाकोटबाट ८९८, रसुवाबाट ६४४ र धादिङबाट तीन जना रहेका छन्।
उद्धार गरिएका घाइतेमध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा ८४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। केही घाइते भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। प्रहरीका अनुसार प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। उनीहरूले बेपत्ताको खोजी, घाइतेको उद्धार तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम गरिरहेका छन्।
यसैबीच, बाढीका कारण २८ जना प्रहरी कर्मचारीसमेत अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी कार्यलाई तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीबाट प्रभावित जिल्लामा जनधनको क्षतिको विवरण अझै संकलन भइरहेको छ। नदीको तल्लो तटीय क्षेत्रमा समेत शव तथा प्रभावित व्यक्तिहरू भेटिने क्रम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। सुरक्षाकर्मी तथा स्थानीय तहले खोजी, उद्धार र शव व्यवस्थापनको कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्।