पूर्वराजा ज्ञानेन्द्रसँग धवलशम्शेर राणाको दुई घन्टा भेटवार्ता
काठमाडौं — जय नेपाल पार्टीका सभापति तथा पूर्वसांसद धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग करिब दुई घन्टा भेटवार्ता गरेका छन्।
शनिबार काठमाडौंस्थित सोल्टी होटलमा भएको भेटमा समसामयिक राजनीतिक तथा सामाजिक अवस्थाका साथै राणाले गठन गरेको जय नेपाल पार्टीका विषयमा छलफल भएको बताइएको छ। हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रममा सहभागी भएका राणा र पूर्वराजा शाहले सोही क्रममा ‘वान टु वान’ कुराकानी गरेका हुन्।
जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीका अनुसार भेटवार्ता फलदायी रहेको थियो। उनका अनुसार दुईबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।
राणाका अनुसार उनले पूर्वराजा शाहलाई जय नेपाल पार्टी गठन, पार्टीका उद्देश्य तथा आगामी राजनीतिक कार्यदिशाबारे जानकारी गराएका थिए। भेटमा शुभकामना आदानप्रदान हुनुका साथै मुलुकको राजनीतिक तथा सामाजिक अवस्थाबारे लामो कुराकानी भएको उनले बताए।
पूर्वराजा शाहले नयाँ पार्टी गठन गरेकोमा राणालाई शुभकामना दिँदै सबैलाई समेटेर अघि बढ्न सुझाव दिएको राणाले बताए।
राणाले जय नेपाल पार्टीले राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा जनमत निर्माण गर्दै अघि बढ्ने कार्यदिशा लिएको जानकारी पनि पूर्वराजा शाहलाई गराएका थिए। पार्टीको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न भइसकेको उनले बताए।
उनका अनुसार जय नेपाल पार्टीले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा समेत भाग लिनेछ। त्यसका लागि देशभरबाट उम्मेदवार खोजी भइरहेको र स्थानीय तहलाई राम्रो बनाउने उद्देश्य तथा क्षमता भएका व्यक्तिलाई उम्मेदवार बन्न आह्वान गरिएको राणाले बताए।
राणाले यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पद छाडेर नयाँ पार्टी गठन गरेका थिए। लामो समयपछि पूर्वराजा शाहसँग भेट भए पनि आफूले राप्रपा परित्याग गरी नयाँ पार्टी गठन गरेको विषयमा शाह जानकार रहेको राणाले बताए।