रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ।
रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सरकारमा सहभागी पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्।
सहमहामन्त्री तथा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा साँझ ५ देखि ६ बजेसम्म मन्त्रीहरूले आमनागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्। उक्त समयमा नागरिकले आफ्ना गुनासा, समस्या, अपेक्षा तथा सुझाव मन्त्रीसमक्ष राख्न सक्नेछन्।
त्यसपछि साँझ ६ बजेबाट ‘नेतृत्व संवाद’ सञ्चालन हुनेछ। यस चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक हुनेछ। नागरिक संवादबाट प्राप्त सुझाव तथा समसामयिक र नीतिगत विषयमा बैठकमा छलफल गरिने रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार कार्यक्रमको उद्देश्य नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वय बढाउनु, नागरिकका मुद्दामा साझा रणनीति निर्माण गर्नु तथा मन्त्रीहरूलाई नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउनु हो।
यस्तै, नागरिकका वास्तविक समस्या बुझेर नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने र पार्टी संगठन, संसदीय दल तथा सरकारमा रहेका प्रतिनिधिबीच सूचना तथा कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने लक्ष्यसमेत कार्यक्रमले लिएको छ।
रास्वपाले निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु लोकतन्त्रको मर्म भएको भन्दै जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम अघि बढाउन लागिएको जनाएको छ।