भदौ ३१ देखि नेपालगञ्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन हुने
नेपालगञ्ज — लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ।
निजी हवाई सेवा प्रदायक बुद्ध एयरले भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको हो। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार यात्रुको माग बढेसँगै सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो।
नेपालगञ्जबाट पोखरा हुँदै भारतको उत्तर प्रदेशसँग समेत पर्यटन तथा धार्मिक आवागमनमा प्रत्यक्ष जोडिने भएकाले उडानप्रति पछिल्लो समय यात्रुको आकर्षण बढेको शाहले बताए। गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र सञ्चालन लागत तथा इन्धन खर्च बढी हुनुका कारण सेवा रोकिएको उनले जानकारी दिए।
पछिल्लो समय धार्मिक पर्यटकको आगमन र यात्रुको माग बढेपछि उडान पुनः सञ्चालन गर्न लागिएको बुद्ध एयरले जनाएको छ। तालिकाअनुसार अब आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा उडान हुनेछ। उडानका लागि बुकिङसमेत खुला गरिएको छ।
नेपालगञ्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपाल तथा भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायका लागि महत्वपूर्ण रहेको बताए।
उनका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरा हुँदै बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिक गन्तव्यमा आवतजावत सहज हुनेछ। साथै बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ भ्रमणमा पनि सहजता पुग्नेछ।
स्थानीय पर्यटन व्यवसायीको लामो पहलपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा उडान सातामा तीन दिन सञ्चालनमा आएको थियो। बीचमा रोकिएको सेवा पुनः सञ्चालन भएपछि पश्चिम नेपाल र पोखराबीचको पर्यटन तथा हवाई सम्पर्क थप बलियो हुने अपेक्षा गरिएको छ।