लाल बकैया नदीमा डुबेका तीन बालबालिकामध्ये दुईको शव फेला, एक अझै बेपत्ता
रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनियास्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ। एक बालिका भने अझै बेपत्ता रहेकी छन्।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीका अनुसार बेपत्ता भएका १० वर्षीय मो. रमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव बुधबार बिहान फेला परेको हो। घटनास्थलबाट करिब डेढ किलोमिटर टाढा जिङडिया पुलनजिक बिहान साढे ६ बजे उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो करिब २ बजे लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा तीनै जना बालबालिका डुबेर बेपत्ता भएका थिए। बेपत्ता हुनेमा शेख खुर्सैदकी १० वर्षीया छोरी रौशन खातुन रहेकी छन्।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईका अनुसार रौशनको खोजीलाई तीव्र पारिएको छ। उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
बेपत्ता बालिकाको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट नौ सदस्यीय डुबान उद्धार टोली समेत घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ। प्रहरीले नदीको विभिन्न भागमा खोजी कार्य जारी राखेको छ।