देवानगन्ज–कप्तानगन्ज घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्ज घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले घटनामा राज्यको दमनका कारण नागरिकले ज्यान गुमाएको तथा निजी सम्पत्तिमा क्षति पुगेको दाबी गर्दै पीडित पक्षसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको हो।
कांग्रेसले १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर हुँदासमेत सरकारले बेवास्ता गरेको आरोप लगाएको छ। सरकारले हालसम्म चार जनालाई सहिद घोषणा गर्नुबाहेक सम्झौताका अन्य विषय कार्यान्वयन नगरेको कांग्रेसको भनाइ छ।
सरकारी संयन्त्र मात्र सहभागी हुने आयोगप्रति विश्वास गर्न नसकिने भन्दै कांग्रेसले स्वतन्त्र, निष्पक्ष र सर्वस्वीकार्य आयोग गठन गर्नुपर्ने बताएको छ। सम्झौता कार्यान्वयनमा सरकार उदासीन हुँदा स्थानीय समुदायमा आक्रोश बढेको र पुनः दुर्घटना हुन सक्ने चेतावनीसमेत कांग्रेसले दिएको छ।
विभिन्न पेसागत तथा सामाजिक समूहसँग सरकारले गरेका सहमति पनि कार्यान्वयन नभएको आरोप लगाउँदै कांग्रेसले सहमति र समझदारीलाई सरकारबाट उम्किने माध्यम नबनाउन आग्रह गरेको छ।