तनहुँमा बढ्दै सम्बन्ध विच्छेदका मुद्दा, ९५२ मुद्दा दर्ता
तनहुँ — जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको पाइएको छ।
तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यका अनुसार महिलामा शिक्षा, रोजगारी तथा आर्थिक आत्मनिर्भरता बढेसँगै आफ्नो अधिकारका लागि कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको छ। सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताप्रतिको बढ्दो बुझाइ सम्बन्ध विच्छेदका मुद्दा बढ्नुका प्रमुख कारण रहेको उनको भनाइ छ।
गत आर्थिक वर्षमा तनहुँ जिल्ला अदालतमा दर्ता भएका २ हजार ४५६ मुद्दामध्ये ९५२ वटा सम्बन्ध विच्छेदका रहेका छन्। तीमध्ये ८१० मुद्दा निरूपण भएका छन्।
यस्तै, आर्थिक वर्ष २०८२/८३ मा अंशसम्बन्धी २८७ मुद्दा दर्ता भएकामा १७९ वटा किनारा लगाइएको अदालतले जनाएको छ।