सप्तरीमा तीन वर्षीया बालिका घरपछाडिको झाडीमा मृत फेला
सप्तरी — सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडिको झाडीमा मृत फेला परेकी हुन्। परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्।
त्यसपछि बालिका हराएको थाहा पाएपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा उनको शव फेला पारेको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाइएको छ।
बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा स्थानीयको बाक्लो भीड लागेको छ।