नेपाल–चीन सीमा क्षेत्रमा बाढीपछि उद्धारमा जुट्न राष्ट्रपति सीको निर्देशन
काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा भीषण बाढी र पहिरोका कारण ठूलो क्षति भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा पूर्ण प्रयास गर्न निर्देशन दिएका छन्।
तिब्बततर्फबाट आएको अचानकको बाढीले चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ग्यारोङ काउन्टीमा ठूलो क्षति पुर्याएको छ। बाढी र लेदोसहितको पहिरोका कारण चीन–नेपाल सीमा क्षेत्रको ग्यारोङ बन्दरगाहमा सडक, सञ्चार तथा विद्युत् सेवामा क्षति पुगेको छ।
सिन्ह्वाका अनुसार राष्ट्रपति सीले बेपत्ताको खोजी तथा उद्धारलाई तीव्रता दिन, राहत तथा उद्धारका लागि आवश्यक सबै शक्ति परिचालन गर्न र थप विपद् हुन नदिन जोखिमको निगरानी तथा पूर्वसूचना प्रणालीलाई बलियो बनाउन निर्देशन दिएका छन्।
ग्यारोङ बन्दरगाह नेपालसँगको प्रमुख व्यापारिक स्थलमार्गमध्ये एक हो।
नेपालतर्फ रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पनि ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण रसुवागढी, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा सडक, बस्ती, सरकारी संरचना तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
नेपालतर्फ कम्तीमा आठ जनाको मृत्यु भएको र ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको जनाइएको छ। बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, रसुवागढी भन्सार क्षेत्र तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्याएको छ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्।
तिब्बत क्षेत्रमा रहेका हिमतालबाट अचानक पानी निस्किएको हुन सक्ने आशंका गरिए पनि बाढीको कारण हालसम्म निश्चित रूपमा पुष्टि भएको छैन।