रसुवाको बाढीमा चार रुसी नागरिक सम्पर्कविहीन
धुन्चेमा रहेका आठ रुसी नागरिक सुरक्षित, उद्धार तथा खोजी कार्य जारी
रसुवा — रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीमा परी कम्तीमा चार जना रुसी नागरिक सम्पर्कविहीन भएका छन्।
नेपालस्थित रुसी दूतावासका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका चार रुसी नागरिकसँग सञ्चार सम्पर्क विच्छेद भएको हो। उनीहरूको अवस्था यकिन हुन नसकेपछि नेपाली सुरक्षा निकाय तथा उद्धार टोलीले खोजी तथा उद्धार कार्य अघि बढाएका छन्।
दूतावासका अनुसार रुसी नागरिकको अर्को आठ जनाको समूह भने रसुवाको सदरमुकाम धुन्चेमा सुरक्षित रहेको छ। उनीहरूलाई थप सुरक्षित स्थानमा स्थानान्तरण गरिएको दूतावासले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा प्रतिकूल मौसमका साथै सञ्चार सेवा अवरुद्ध हुँदा खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ। सुरक्षा निकाय र उद्धार टोलीले सम्भावित क्षेत्रमा खोजीलाई तीव्रता दिएका छन्।
सम्पर्कविहीन भएका आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिन तथा उद्धार प्रक्रियालाई सहज बनाउन रुसी दूतावासले नेपाल सरकारका सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
दूतावासले घटनाबारे थप विवरण तथा सम्पर्कविहीन नागरिकको अवस्थाबारे जानकारी संकलन भइरहेको जनाएको छ।