बागमतीका मुख्यमन्त्री बानियाँले भदौ ३ गते विश्वासको मत लिने
हेटौँडा । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका छन्। उनले आगामी भदौ ३ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार विश्वासको मत लिनुअघि भदौ २ गतेसम्म कांग्रेसका प्रदेशसभा सदस्यलाई हेटौँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। मुख्यमन्त्रीले अन्य दलसँग समेत समर्थनका लागि छलफल गरिरहेका छन्।
यसैबीच, प्रदेशसभामा दुई सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सहभागी भएको छ। मुख्यमन्त्री बानियाँले हानेपाका शैलेन्द्रराज बज्राचार्यलाई भौतिक विकास तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका छन्।
एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद् पुनर्गठन गर्दै विभिन्न मन्त्रालयको जिम्मेवारी कांग्रेसका प्रदेशसभा सदस्यलाई दिएका छन्।
प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईँका अनुसार संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले भदौ ४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्नेछ। विश्वासको मतका लागि प्रदेशसभामा तत्काल कायम १०४ सदस्यको बहुमत अर्थात् कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्नेछ।
हाल कांग्रेससँग ३६, नेकपा एमालेसँग २५ र नेकपासँग २६ सांसद छन्। एमाले र नेकपाको सिट जोड्दा ५१ मात्र पुग्ने भएकाले सरकार गठनका लागि राप्रपा, नेमकिपा वा अन्य साना दलको समर्थन निर्णायक हुने देखिएको छ।
यसैबीच, एमालेभित्र पनि नयाँ सरकारको नेतृत्वलाई लिएर विवाद देखिएको छ। बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध २७ साउनमा अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रस्तावमा १६ सांसदको हस्ताक्षर रहेको दाबी गरिएको छ।
कांग्रेस र एमालेबीच गत वर्ष भएको सत्ता साझेदारीअनुसार आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि कांग्रेसको पछिल्लो निर्णयसँगै गठबन्धन टुटेपछि बागमती प्रदेशको सत्ता समीकरण फेरिएको हो।