राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ‘१ महिने निक्षेप संकलन उपकरण’मार्फत उक्त रकम संकलन गर्न लागेको हो। शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
उक्त निक्षेप संकलन उपकरणको अवधि ३५ दिन रहनेछ भने सावाँ तथा ब्याज आगामी असोज २ गते भुक्तानी गरिनेछ। ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।
सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी रकम बाँडफाँड गरिनेछ। समान ब्याजदर प्रस्ताव भएमा प्रो–राटा आधारमा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
संकलित निक्षेपलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (SLR) र तरलता अनुपातमा गणना गर्न पाइनेछ। साथै, राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा यो निक्षेपलाई धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।