भोटेकोशी बाढीले बगाएका २९ शवको गोरखामा अन्त्येष्टि
गोरखा — भोटेकोशी नदीमा बुधबार आएको बाढीले बगाएर त्रिशूली नदी हुँदै गोरखातर्फको बगरमा ल्याएका पहिचान खुल्न नसकेका २९ शवको अन्त्येष्टि गरिएको छ।
जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार जिल्लामा हालसम्म ५५ वटा शव फेला परेका छन्। तीमध्ये पहिचान खुल्न नसक्ने तथा शरीरका विभिन्न अंगसमेत गरी २९ वटाको अन्त्येष्टि गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले जानकारी दिए।
शवगृहको अभाव र दैनिक रूपमा शव फेला पर्ने क्रम बढ्दै गएपछि पहिचान खुल्न नसकेका शव व्यवस्थापनका लागि अन्त्येष्टि गरिएको श्रेष्ठले बताए।
‘गोरखामा शवगृहको अभाव छ। दैनिक शव फेला पर्नेक्रम बढ्दै गएपछि व्यवस्थापनका लागि पहिचान खुल्न नसक्ने शव अन्त्येष्टि गरेका हौँ,’ उनले भने।
अन्त्येष्टिअघि ती शवबाट आवश्यक डीएनए नमुना संकलन गरिएको प्रशासनले जनाएको छ। पर्याप्त व्यवस्थित शवगृह नहुँदा शव बिग्रने, दुर्गन्ध फैलिने तथा रोगको संक्रमणसमेत फैलिन सक्ने जोखिम रहेकाले व्यवस्थापनका लागि अन्त्येष्टि गर्नुपरेको श्रेष्ठले बताए।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार गोरखामा हालसम्म २३ वटा पहिचान खुल्न सक्ने सग्ला शव फेला परेका छन्। तीमध्ये ११ वटा शव पोखरा पठाइएको छ।
बाँकी शव प्रदेश अस्पताल गोरखा तथा एनपीआई गोरखा अस्पतालको शवगृहमा राखिएको छ। केही शव अस्पतालसम्म ल्याउने क्रमसमेत जारी रहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाले २९ वटा शवको सहिदलखन गाउँपालिका–९, बुङ्कोटघाटस्थित बूढीगण्डकी नदी किनारमा अन्त्येष्टि गरेको हो। प्रहरीले केन्द्रबाट प्राप्त कार्यविधिअनुसार शव गाडेर अन्त्येष्टि गरिएको जनाएको छ।
भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर आएका शव गोरखाका विभिन्न क्षेत्रमा फेला पर्ने क्रम जारी छ। शवको पहिचान तथा आफन्तको खोजीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेका छन्।