एआई र डिजिटल युगमा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जोगाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताएका छन्।
काठमाडौंमा आजदेखि सुरु भएको ‘एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट’ (एआईबीडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात् गर्दै सत्यतथ्यमा आधारित विश्वसनीय समाचारलाई प्राथमिकता दिनुपर्ने बताए।
सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा सुरु भएको सम्मेलनमा उनले सञ्चार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचनाको अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताजस्ता आधारभूत मूल्य र सिद्धान्त परिवर्तन हुन नहुने धारणा व्यक्त गरे।
मन्त्री तिमिल्सिनाले स्वतन्त्रतासँगै सञ्चार क्षेत्रको जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको बताए।
गलत सूचना र दुष्प्रचारको समाधान प्रतिबन्ध वा नियन्त्रणमा मात्र खोज्न नहुने उनको भनाइ थियो। उनले बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता, प्रभावकारी व्यावसायिक मापदण्ड तथा नागरिकको विश्वास अभिवृद्धिलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।
सङ्कट, प्राकृतिक विपद् तथा सार्वजनिक स्वास्थ्यजस्ता जनचासोका विषयमा आमसञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण हुने मन्त्री तिमिल्सिनाले बताए। त्यस्ता अवस्थामा नागरिकलाई सही सूचना उपलब्ध गराउनुका साथै समाजमा विश्वास र स्थिरता कायम गर्न जिम्मेवार सञ्चारमाध्यमले महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
एआई, गलत सूचना र दुष्प्रचार सीमापार फैलिन सक्ने तथा जलवायु परिवर्तन र प्राकृतिक विपद्का प्रभाव बहुदेशीय हुने भएकाले विभिन्न देशबीच ज्ञान, प्रविधि र अनुभव आदानप्रदान आवश्यक रहेको मन्त्री तिमिल्सिनाले बताए।
उनले बदलिँदो प्रविधिको चुनौती सामना गर्दै सञ्चार क्षेत्रलाई अझ विश्वसनीय, जिम्मेवार र नागरिकमुखी बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिए।