स्थानीय तह निर्वाचनका लागि रास्वपाले भदौ १ देखि ‘क्यान्डिडेट क्लब’ खोल्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने भएको छ।
रास्वपाले भदौ १ गतेदेखि स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘क्यान्डिडेट क्लब’को आवेदन खुला गर्ने तयारी गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार जिम्मेवार, योग्य, परिपक्व र क्षमतावान व्यक्तिलाई उम्मेदवार बनाउन यस्तो प्रक्रिया अघि बढाउन लागिएको हो।
क्यान्डिडेट क्लबमा आवेदन दिएपछि इच्छुक उम्मेदवारले प्रारम्भिक छनोट प्रक्रिया पार गर्नुपर्नेछ। सम्बन्धित क्षेत्रका नागरिकको सहभागितामा हुने छनोटमा अनलाइन मतदानको व्यवस्था गर्ने तयारी रास्वपाले गरेको छ।
पार्टीका अनुसार उम्मेदवारले टिकट पाउनुअघि दुईदेखि तीन चरणको छनोट प्रक्रिया पार गर्नुपर्नेछ। त्यसपछि मात्र अन्तिम उम्मेदवारका रूपमा टिकट दिने व्यवस्था गरिनेछ।