आन्तरिक राजस्व कार्यालय झापाले ४ अर्ब ९३ करोड राजस्व सङ्कलन गर्यो
झापा — आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा ४ अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालयले ६ अर्ब ६ करोड ८६ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ८१ दशमलव ३१ प्रतिशत हासिल गरेको हो।
कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकरबाट २ अर्ब ४१ करोड ६१ लाख ७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट)बाट १ अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्कबाट ६७ करोड ८९ लाख ५ हजार रुपैयाँ सङ्कलन भएको छ।
यस्तै, भाडा आयकरबाट ५ करोड ६६ लाख ७८ हजार, ब्याज करबाट ९ करोड ३६ लाख ८० हजार र अन्य शीर्षकबाट २ करोड ६३ लाख २१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
आन्तरिक राजस्व कार्यालय झापाको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङसमेत रहेको छ।