किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
यसअघि अदालतले श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार उनलाई अदालतमा उपस्थित गराएर थप समय माग गरेको थियो। अदालतले प्रहरीको मागअनुसार थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
प्रहरीले अनुसन्धान नसकिएको कारण देखाउँदै म्याद थप माग गरे पनि श्रेष्ठसँग हालसम्म बयान नलिइएको दाबी गरिएको छ।
श्रेष्ठको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। उक्त रिटमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सोमबार सुनुवाइ हुँदैछ।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत बुधबार पक्राउ गरेको थियो। उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।