आगामी तीन दिन प्रमुख नदीमा बहाव बढ्ने, सतर्क रहन आग्रह
बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ।
आज बिहानसम्म कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदीको पानीको सतह सतर्कता तहभन्दा तल रहे पनि कर्णाली र पश्चिम राप्तीका केही खण्डमा आजै बहाव बढ्ने जनाइएको छ।
महाशाखाका अनुसार भोलि र पर्सि भने अधिकांश ठूला नदी तथा जलाधार क्षेत्रमा पानीको सतह उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। यसैगरी, सोलुखुम्बु, दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा आज साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताइएको छ।
भोलि कोशी, बागमती र गण्डकी तथा पर्सि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा अचानक बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।