क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं — क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका एक जनालाई काठमाडौंमा पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाल रहेका छन्।
वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि दुलाललाई साउन २४ गते गोकर्णेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुलालले क्यानडामा रोजगारी दिलाइदिने प्रलोभन देखाएर एक व्यक्तिबाट ३७ लाख रुपैयाँ लिएको आरोप छ।
पक्राउ परेका दुलाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।