प्राचीन धर्मग्रन्थ संकलन अभियान सञ्चालन गरिँदै
हेटौँडा — हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटमा रहेको संस्कृत वेद विद्यालयको पुस्तकालयमा प्राचीन महत्वका धर्मग्रन्थ संकलन अभियान सञ्चालन गरिने भएको छ।
विद्यालय स्थापना भएको समयदेखि विद्यार्थीका लागि आवश्यक पुस्तक संकलन गर्दै आएको पुस्तकालयलाई थप व्यवस्थित गरी धार्मिक तथा प्राचीन ग्रन्थको अध्ययन–अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले बताए।
हाल पुस्तकालयमा करिब २५० पुस्तक रहेका छन्। प्राचीन महत्वका धर्मग्रन्थ घरमै थन्किएर रहेका व्यक्तिहरूलाई पुस्तकालयलाई उपलब्ध गराउन थापाले आग्रह गरेका छन्।
पुस्तकालय व्यवस्थापनका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा रु. २ लाख सहयोग गरेको थियो। पुस्तकालयमा संकलित ग्रन्थ विद्यार्थी, अनुसन्धानकर्ता तथा अन्य अध्येताका लागि उपयोगी हुने र सुरक्षित रूपमा संरक्षण गरिने विद्यालयले जनाएको छ।
विद्यालयमा देशका विभिन्न जिल्लाबाट आएका करिब ५० बटुक अध्ययनरत छन् भने ४० जनालाई आवासीय सुविधा उपलब्ध गराइएको छ।