रिटर्नी नेपालीको सीप र पुँजीलाई उत्पादनमा जोड्नुपर्नेमा चन्द्र ढकालको जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका नेपाली रिटर्नी उद्यमीको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक विकासमा अधिकतम उपयोग गर्नुपर्ने बताएका छन्।
नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घले आयोजना गरेको अन्तरक्रियामा ढकालले कोरियामा विभिन्न क्षेत्रमा काम गरेर ज्ञान, सीप र अनुभव हासिल गरेका नेपालीको क्षमतालाई संस्थागत रूपमा उपयोग गर्न सके नेपालको आर्थिक रूपान्तरणको बलियो आधार बन्न सक्ने बताए।
नेपाल–कोरिया श्रम सम्बन्ध दुई देशबीचको कूटनीतिक र सांस्कृतिक सम्बन्धसँगै आर्थिक तथा व्यावसायिक साझेदारीको जीवन्त उदाहरण भएको उनको भनाइ थियो। हजारौँ नेपाली युवाले कोरियामा श्रम गरेर हासिल गरेको सीप, अनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि महत्वपूर्ण सम्पत्ति भएकाले राज्य र निजी क्षेत्रले संयुक्त रूपमा त्यसको सदुपयोग गर्नुपर्ने उनले बताए।
कोरियाले करिब छ दशकअघि गरिबीबाट औद्योगिक शक्तितर्फ फड्को मार्दा अपनाएको अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन तथा सरकार–निजी क्षेत्रबीचको समन्वयबाट नेपालले पनि सिक्न सक्ने ढकालले उल्लेख गरे। रिटर्नी उद्यमीले सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा लागू गर्न सके नेपालको औद्योगिक चरित्रमै परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो।
ढकालले जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा पर्याप्त लगानी सम्भावना रहेको बताए। भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणका कारण नेपाललाई क्षेत्रीय उत्पादन आधारका रूपमा विकास गर्ने अवसर रहेको उनले बताए।
लगानीमैत्री नीति निर्माण र एकद्वार सेवाका लागि सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै ढकालले निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि यस्तो अभियानलाई थप तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याए।
देशभर छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको पनि उनले जानकारी दिए। नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नी उद्यमीका लागि उक्त कम्पनी लगानी साझेदार बन्न सक्ने तथा सानो पुँजी भएका लगानीकर्ताले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत लगानी गर्न सक्ने व्यवस्था रहेको उनले बताए।