बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
नुवाकोट । चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको त्रिशूली र बेत्रावती बजार क्षेत्रमा अकल्पनीय क्षति पुर्याएको छ। बाढीले शताब्दीऔँ पुराना बजार क्षेत्र, सडक, पुललगायतका संरचना ध्वस्त बनाएको छ।
रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति भएपछि बाढी आउनुअघि जारी गरिएको पूर्वसूचना र त्यसअनुसार सरकारी निकायले गरेको तयारीमाथि प्रश्न उठेको छ।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति ९:२० बजे बेत्रावती बजारको नामै उल्लेख गर्दै बाढीको जोखिमबारे पूर्वसूचना जारी गरेको थियो। सूचनामा फलाखु खोला र बेत्रावतीस्थित नुवाकोट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो।
त्यसपछि महाशाखाले भदौ १० गते बिहान पनि रसुवा, नुवाकोटसहित विभिन्न जिल्लामा बाढी तथा आकस्मिक बाढीको जोखिम रहेको भन्दै चेतावनी जारी गरेको थियो। रसुवा, नुवाकोट, धादिङ, गोरखा, दोलखालगायत जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको थियो।
यद्यपि, चीनको तिब्बत क्षेत्रबाट नेपालतर्फ आउन सक्ने बाढीको सम्भावनाबारे पूर्वसूचनामा स्पष्ट उल्लेख थिएन। तिब्बततर्फबाट आएको अचानकको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङ हुँदै नुवाकोटको बेत्रावतीसम्म ठूलो क्षति पुर्याएको छ।
बाढीपछि महाशाखाले बुधबार बिहान ११:५० बजे ‘हाई अलर्ट’ जारी गर्दै रसुवाको भोटेकोसीमा आएको बाढी मलेखु बजार आसपास पुगिसकेको र करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको जनाएको थियो। महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।
जोखिमबारे पूर्वसूचना जारी भइसकेको अवस्थामा समेत प्रभावित बस्ती र बजार क्षेत्रका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न नसकिएको भन्दै सरकारी पूर्वतयारी र विपद् व्यवस्थापन संयन्त्रमाथि प्रश्न उठेको छ।
अब बाढी आउनुअघि जारी भएका पूर्वसूचनाका आधारमा सम्बन्धित निकायले के-कस्तो तयारी गरेका थिए, जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा किन सार्न सकिएन र पूर्वसूचनाको कार्यान्वयनमा कहाँ कमजोरी भयो भन्ने विषयमा छानबिन आवश्यक देखिएको छ।