धरान उपमहानगरपालिकाको २ अर्ब ७६ करोडको बजेट पारित
धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट पारित गरेको छ। बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै बजेट पारित गरेको हो।
कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गरेको बजेटमा नगर कार्यपालिकातर्फ २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वटा वडा कार्यालयतर्फ २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेटको मुख्य स्रोतका रूपमा आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड ९४ लाख ८८ हजार, संघीय अनुदानबाट ८६ करोड १९ लाख, प्रदेश अनुदानबाट ९ करोड १६ लाख ४८ हजार र राजस्व बाँडफाँटबाट ३२ करोड ८८ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
नगरले सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख रुपैयाँ छुट्याएको छ। यसअन्तर्गत खाल्डाखुल्डीमुक्त नगर कार्यक्रमका लागि ४ करोड, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माणका लागि १ करोड र सभागृह निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।
स्वास्थ्य क्षेत्रमा १२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। धरान अस्पताल सञ्चालनका लागि २ करोड तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ। शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा ४९ करोड ८६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसबाट शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गर्नुका साथै एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने योजना छ।
सामाजिक विकासतर्फ आन्तरिक स्रोतबाट १० करोड रुपैयाँ छुट्याइएको छ। सुकुमवासी व्यवस्थापन, सिटी सफारी तथा ट्याम्पो चालकको दुर्घटना सहयोग, सडक मानव व्यवस्थापन, बाँदर नियन्त्रण तथा लैङ्गिक समानता र समावेशीकरणका कार्यक्रम बजेटमा समेटिएका छन्।
आर्थिक विकासतर्फ ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ, जसमा संकटग्रस्त सहकारी व्यवस्थापनका लागि मात्रै ५ करोड रुपैयाँ छुट्याइएको छ। वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनका लागि ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ र विपद् व्यवस्थापन कोषमा २ करोड रुपैयाँ राखिएको छ।
यस्तै, धरानको दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने उद्देश्यले चतरा–कोशी नदीबाट पानी आपूर्ति गर्ने सरकारी योजनामा साझेदारीका लागि ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको कार्यवाहक नगरप्रमुख बेघाले बताए। नगरपालिकाले पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी वर्षका कार्यक्रम अघि बढाउने जनाएको छ।