दीपक रिसालको पहलमा रसुवा बाढीपीडितका लागि राहत कोष स्थापना
काठमाडौं — गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालको पहलमा रसुवाका बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनाका लागि राहत कोष स्थापना गरिएको छ।
नगरपालिकाका अनुसार जनप्रतिनिधिको एक महिनाको सुविधा तथा कर्मचारी र शिक्षकको १० प्रतिशत तलब बराबरको रकम गरी हालसम्म ५१ लाख रुपैयाँ राहत कोषमा जम्मा भइसकेको छ।
नगर प्रमुख रिसालले गोकर्णेश्वरका संघसंस्था, क्लब, टोल सुधार समिति, महिला समूह तथा सम्पूर्ण नगरवासीलाई आफ्नो इच्छाअनुसार स्वेच्छिक सहयोग गर्न आह्वान गरेका छन्।
क्यूआर कोडमार्फत सहयोग गर्ने व्यक्तिले रकम पठाएपछि त्यसको स्क्रिनसट सचिवालयमा मेसेज गर्न आग्रह गरिएको छ। प्राप्त सहयोग विवरण सचिवालयको फेसबुकमार्फत सार्वजनिक गरिने जनाइएको छ।
संकलित रकम रसुवाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनामा प्रयोग गरिने नगरपालिकाले जनाएको छ।
नगर प्रमुख रिसालले विपद्को यस कठिन घडीमा रसुवाका बाढीपीडितसँग गोकर्णेश्वर नगरपालिका र नगरवासी एकताबद्ध भएर उभिएको बताएका छन्। उनले “सक्नेले सहयोग गरौँ, दुःखमा परेकालाई साथ दिऔँ” भन्ने अपिलसमेत गरेका छन्।