भोटेकोशी बाढीपछि उद्धारमा १३ हजार सुरक्षाकर्मी, १५ हेलिकप्टर परिचालन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी, हेलिकप्टर तथा विभिन्न सरकारी निकायका आपतकालीन समन्वय टोली परिचालन गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) का अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनःस्थापना, सडक सञ्चालन, राहत वितरण, अन्तर्राष्ट्रिय सहायता र सूचना व्यवस्थापनका लागि १२ वटा विषयगत आपतकालीन समन्वय टोली परिचालन गरिएको छ।
प्राधिकरणका अनुसार उद्धार तथा राहत कार्यमा नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर परिचालन भएका छन्। स्थलगत तथा हवाई उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।
उद्धारसम्बन्धी विवरणअनुसार हालसम्म १ हजार ९७६ जनाको उद्धार गरिएको छ। बाढीबाट १३० जना घाइते भएका छन्। तीमध्ये ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको, ४८ जना उपचारपछि डिस्चार्ज भएका र १४ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको प्राधिकरणले जनाएको छ।
बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। बिहीबार राति १० बजेसम्म ३८९ जनाको शव फेला परेको थियो। फेला परेका शवमध्ये धादिङमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोरखामा ३२, नवलपरासी पूर्वमा ८७, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १३७ रहेका छन्।
सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना रहेका छन्। त्यस्तै रसुवाका १६१ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। विदेशी नागरिकतर्फ ५१७ जना सम्पर्कविहीन रहेको तथा नेपाल घुम्न आएका र विदेशमा रहेका नेपालीमध्ये १२७ जना सम्पर्कमा नरहेको विवरणमा उल्लेख छ।
प्राधिकरणका अनुसार २०८३ भदौ १० गते नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलाको उत्तरी क्षेत्रमा करिब एक वर्गकिलोमिटर क्षेत्रमा हिम–चट्टान खसेर ठूलो भू–चाल उत्पन्न भएको थियो। उक्त घटनाबाट म्याग्निच्युड ५.२ बराबरको भूकम्पीय संकेत देखिएको र त्यसपछि भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा भीषण बाढी आएको प्राधिकरणले जनाएको छ।
बाढीबाट सडक, पुल, विद्युत्, सञ्चारलगायत भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि तत्काल खोज तथा उद्धारसँगै अत्यावश्यक सेवा पुनःस्थापनालाई प्राथमिकता दिइएको छ।
बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन विभिन्न स्थानमा भारी उपकरण परिचालन गरिएको छ। देवीघाटको सडक अवरोध हटाइसकिएको छ भने गल्छी–विदुर–त्रिशूली तथा बैरेनी–मुग्लिन सडकखण्डमा अवरोध हटाउने काम भइरहेको छ।
धुन्चे–ग्राङ सडकखण्डमा हिल एक्साभेटर, लोडर र टिपर परिचालन गरिएको छ। विदुर–त्रिशूली–ढुंगे खण्डमा तीन वटा भारी उपकरण तथा बैरेनी–मुग्लिन सडकखण्डमा ब्याकहो परिचालन गरिएको छ। सडक अवरोध हटाउन सडक विभागअन्तर्गत काठमाडौं, मुलकोट, डुम्रे तथा जनकपुर क्षेत्रमा समेत थप उपकरण तयारी अवस्थामा राखिएको छ।
सरकारले तत्काल राहत वितरणका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ गरी कुल २ करोड ५० लाख रुपैयाँ पठाएको छ।
प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, त्रिपाल, कम्बल, सुत्ने सामग्री, सोलार बत्ती, जेनेरेटर, पावर बैंक, सरसफाइ तथा स्वास्थ्य सामग्रीलगायत राहत सामग्री पठाइएको छ। खोज तथा उद्धारसँगै प्रभावित परिवारलाई आधारभूत आवश्यकता पूरा गर्न राहत वितरण भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन नुवाकोटका विभिन्न आयल स्टोरमा डिजेल र पेट्रोल मौज्दात राखिएको छ। प्राधिकरणका अनुसार बिहीबार मात्रै प्रभावित क्षेत्रका लागि १८ हजार लिटर डिजेल र १८ हजार लिटर पेट्रोल पठाइएको छ।
बाढी प्रतिकार्यलाई प्रभावकारी बनाउन खोज तथा उद्धार, स्वास्थ्य, शव व्यवस्थापन, अन्तर्राष्ट्रिय सहायता, यातायात तथा सडक सम्पर्क, क्षति मूल्याङ्कन, राहत, हवाई सञ्चालन, बेपत्ता व्यक्ति खोजी, सञ्चार तथा विद्युत् पुनःस्थापनालगायत क्षेत्र हेर्ने १२ वटा विषयगत टोली परिचालन गरिएको छ।
बेपत्ता तथा मृतकको विवरण संकलन र परिवारलाई आवश्यक सहयोग पुर्याउन सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ। सम्पर्कविहीन व्यक्तिको विवरण संकलन तथा खोजीका लागि डिजिटल माध्यमबाट समेत विवरण व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणले बाढीको तत्कालीन प्रभाव कम हुँदै गए पनि थप जोखिम कायमै रहेको जनाएको छ। ल्हेन्दे खोलाको माथिल्लो तटीय क्षेत्रमा बहाव अवरुद्ध भएर ताल बनेको प्रारम्भिक विश्लेषणबाट देखिएको भन्दै उक्त प्राकृतिक बाँध फुटेमा पुनः ठूलो बाढी आउन सक्ने चेतावनी दिइएको छ।
प्राधिकरणले ल्हेन्दे खोला, भोटेकोशी तथा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीको सतह र बहावमा परिवर्तन आएमा तत्काल सुरक्षित स्थानमा जान तथा प्रशासनबाट जारी हुने सूचनालाई निरन्तर पछ्याउन आग्रह गरिएको छ।