प्रहरी हेडक्वाटरमा बिचौलियाको प्रभावबारे छानबिन गर्न सांसद सुनारको माग
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको हेडक्वाटरमा निश्चित बिचौलियाहरूको प्रभाव रहेको आरोप लगाउँदै त्यसबारे छानबिन गर्न माग गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सांसद सुनारले प्रहरी हेडक्वाटर नै निश्चित बिचौलियाहरूले कब्जा गरेको जस्तो अवस्था देखिएको दाबी गरे। उनले यस विषयमा गम्भीर र अडिग भएर छानबिन गर्नुपर्ने बताए।
सुनारले नेपाल प्रहरीका लागि सुरक्षा सामग्री खरिदमा भएको भनिएको अनियमिततासम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन भनिए पनि हालसम्म विवरण नआएको भन्दै आपत्ति जनाए।
उनले यसअघि समितिको बैठकमा आफूले उठाएका प्रश्नबाट कसैको मानमर्दन भएको महसुस भए अदालत जानसमेत चुनौती दिए। आफू अदालतको कठघरामा उभिएर उठाएका प्रत्येक प्रश्नको सामना गर्न र त्यसको जवाफ दिन तयार रहेको उनको भनाइ थियो।
समितिमा सांसदहरूबीच एकअर्कालाई होच्याउने, धम्क्याउने वा घेराबन्दी गर्ने कार्य स्वीकार्य नहुने सुनारले बताए। सबै सांसद जनताबाट निर्वाचित र सार्वभौम भएकाले आफ्ना धारणा स्वतन्त्र रूपमा राख्न पाउनुपर्ने उनले उल्लेख गरे।
छलफलका क्रममा कुनै सांसदको अभिव्यक्ति नियमविपरीत भए त्यसबारे रुलिङ गर्ने अधिकार अन्य सांसदलाई नभई समितिका सभापतिमा मात्र रहेको पनि सुनारले जिकिर गरे।