पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु
पोखरा — पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार ग२०प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। पोलमा ठोक्किएपछि मोटरसाइकल गुडिरहेको बसमा समेत ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका–१८ की २९ वर्षीया रुपा बिक गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक सोही ठाउँका ४३ वर्षीय रामचन्द्र बिक घाइते भएका छन्। उनको टाउको र दायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।