साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
काठमाडौं — साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। वर्षा भइरहे पनि भक्तजनहरू लामबद्ध भएर शिवालयमा पूजा तथा दर्शनका लागि पुगिरहेका छन्।
पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएका छन्। दर्शनका लागि आउने श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन गराउने तथा विशेष पूजाको व्यवस्थापनसमेत गरिएको कोषले जनाएको छ।
साउनको अन्तिम सोमबार भगवान् शिवको पूजा तथा आराधना गर्ने परम्पराअनुसार बिहानैदेखि पशुपतिनाथमा भक्तजनको बाक्लो उपस्थिति देखिएको हो। सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि बिहानैदेखि लाम लागेको छ।
पशुपतिनाथतर्फ जाने गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर र पिङ्गलास्थानलगायतका मार्गबाट भक्तजनहरू मन्दिरतर्फ जाने क्रम जारी छ।
साउन महिनाको अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत शिवालयमा दिनभर नै भक्तजनको चाप रहने अपेक्षा गरिएको छ।