पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा रिहा
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सम्झौताविपरीत कर छुट दिई राज्यलाई ठूलो आर्थिक क्षति पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित विभिन्न व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो।
अख्तियारले करिब ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै गत असार २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दामा पूर्वमन्त्री कार्कीसहित तत्कालीन उच्च सरकारी अधिकारी तथा विदेशी ठेकेदार कम्पनीका अधिकारीलाई समेत प्रतिवादी बनाइएको छ।
मुद्दाको सुनुवाइका क्रममा विशेष अदालतले कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतले अन्य प्रतिवादीको हकमा पनि मुद्दाको प्रक्रिया अघि बढाइरहेको छ।