युवालाई शिक्षा, सीप र रोजगारीसँग जोड्न ‘युथ इकोसिस्टम’ बनाइँदै
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षा, सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवालाई जोड्न एकीकृत ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय युवा परिषद्, ७५३ वटै स्थानीय तहका रोजगार, सीप तथा उद्यमशीलता सेवा केन्द्र र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलगायत संयन्त्रलाई आबद्ध गरेर यस्तो प्रणाली निर्माण भइरहेको जानकारी दिए।
उनले युवाको सीप, क्षमता र सिर्जनशीलतालाई देश निर्माणमा जोड्नु सरकारको प्राथमिकता रहेको बताए। युवा देशको भविष्य मात्र नभई वर्तमानको महत्वपूर्ण शक्ति पनि भएकाले निर्णय प्रक्रिया, नेतृत्व र विकासमा युवालाई अग्रस्थानमा राख्नुपर्ने उनको भनाइ छ।
युवा नेतृत्वलाई प्राथमिकता दिँदै राष्ट्रिय युवा ऐनको प्रस्तावित विधेयकमा ३५ वर्षमुनिका युवालाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष बनाउने व्यवस्था प्रस्ताव गरिएको मन्त्री यादवले बताए।
युवाले अवसर खोज्न एउटा कार्यालयबाट अर्को कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।