भोटेकोशी र त्रिशूली आसपास उद्धार तथा राहतमा जुट्न मुख्यमन्त्री आचार्यको आग्रह
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोटेकोशी र त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
रसुवामा आएको अचानकको बाढीको प्रभाव लुम्बिनी प्रदेशको नारायणी नदीमा समेत पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री आचार्यले उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।
बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने र त्यसबाट नवलपरासी पश्चिमको सुस्ता क्षेत्रसमेत प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी आवश्यक तयारी थालिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री आचार्यले प्रदेशका तीनवटै सुरक्षा निकाय तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा रही बाढीको अवस्थाबारे जानकारी लिएका छन्।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आए त्यसका लागि आवश्यक तयारी गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
मौसम तथा नदीको बहावका आधारमा रोल्पाका केही क्षेत्रमा समेत प्रभाव पर्न सक्ने प्रक्षेपणपछि त्यहाँका तटीय तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।
मुख्यमन्त्री आचार्यले नदी तथा खोलाको बहाव बढेको अवस्थामा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई अनावश्यक रूपमा नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेका छन्।
प्रदेश सरकार सम्भावित विपद्को जोखिम न्यूनीकरण, उद्धार तथा राहतका लागि आवश्यक समन्वय र तयारीमा रहेको जनाउँदै उनले विपद्को अवस्थामा सबै निकायबीच प्रभावकारी समन्वय गरी नागरिकको जिउधनको सुरक्षा गर्न प्राथमिकता दिइने बताएका छन्।