ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको मृत्यु
धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ।
आज बिहान सापकोटा सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ट्रक चालक गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिइएको छ।
सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेका तर्फबाट उम्मेदवार बनेकी थिइन्।