पेट्रोलियम कालोबजारी गर्ने पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने पेट्रोलपम्प, ढुवानी ट्यांकर तथा ग्यास डिलरमाथि कडा कारबाही गर्न निर्देशन दिएका छन्।
सिंहदरबारमा आयोजित अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा सभापति अन्सारीले कालोबजारी गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन र आवश्यक परे इजाजतपत्रसमेत खारेज गर्ने गरी अधिकतम कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरे।
उनले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक निर्माणका लागि आवश्यक तयारी अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए।
त्यस्तै, होटल तथा रेष्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति नियन्त्रण गर्न समेत सम्बन्धित निकायलाई उनले निर्देशन दिएका छन्।