पर्यटन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभा शुक्रबार उद्घाटन गर्दै सभामुख अर्यालले विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्रलगायत सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए।
उनले पर्यटन क्षेत्रका नीतिगत तथा संरचनागत समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए। साथै, नाट्टाजस्ता व्यावसायिक संगठनले पर्यटन उद्योगको विकास र प्रवर्द्धनमा थप योगदान गर्नुपर्नेमा उनले जोड दिए।
सभामुख अर्यालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र नेपाल पर्यटन बोर्डले पनि देशको आर्थिक उन्नयनको महत्वपूर्ण आधार मानिएको पर्यटन क्षेत्रको विकासमा इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए।
उनले पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको समेत बताए।