टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
रसुवा — रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले जीवितै उद्धार गरेको छ।
बाढी–पहिरोका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेपछि खोज तथा उद्धारमा परिचालन भएको एपीएफको टोलीले बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेको हो।
उद्धार टोलीले तत्काल बालिकालाई माटोबाट बाहिर निकाली उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाएको छ। बालिकाको स्वास्थ्य अवस्था तथा उनी कसरी पहिरोमा पुरिएकी थिइन् भन्नेबारे थप विवरण खुल्न बाँकी छ।
बाढी–पहिरोपछि टिमुरे क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
बाढीका कारण टिमुरे क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित क्षेत्रमा बेपत्ता तथा जोखिममा परेका व्यक्तिको खोजी तथा उद्धारलाई सुरक्षा निकायले तीव्र बनाएका छन्।
माटोमुनि पुरिएकी बालिकाको जीवितै उद्धार हुनुले विपद्को विनाशबीच उद्धार अभियानमा आशाको संकेत दिएको छ।