जापानको औद्योगिक उत्पादन जुलाईमा ०.१ प्रतिशतले बढ्यो
टोकियो । जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव एक प्रतिशतले बढेको छ। अर्धचालकसम्बन्धी उत्पादनमा भएको वृद्धिले औद्योगिक उत्पादनलाई टेवा दिए पनि यातायात उपकरण उत्पादनमा आएको कमजोरीका कारण समग्र वृद्धिदर सीमित भएको हो। जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार जुन महिनाको औद्योगिक उत्पादन वृद्धिदर यसअघि अनुमान गरिएको एक दशमलव छ प्रतिशतबाट संशोधन गरी एक दशमलव नौ प्रतिशत कायम गरिएको छ।
सन् २०२० लाई एक सयको आधार वर्ष मान्दा कारखाना तथा खानीको मौसमी समायोजित उत्पादन सूचकांक जुलाईमा एक सय चार दशमलव सात पुगेको छ। मन्त्रालयका अनुसार प्रतिवेदनमा समेटिएका १५ औद्योगिक क्षेत्रमध्ये १० वटामा उत्पादन वृद्धि भएको छ। अर्धचालक उत्पादन उपकरणको निर्यात बढेसँगै उत्पादन मेसिनरी क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ। यता, मोटरबाहेकका यातायात उपकरण उत्पादनमा गिरावट आएको छ भने विद्युतीय मेसिनरी तथा सूचना तथा सञ्चारसम्बन्धी विद्युतीय उपकरणको उत्पादनमा भने कुनै परिवर्तन भएको छैन।
निर्माताहरूको सर्वेक्षणका आधारमा मन्त्रालयले आगामी अगस्टमा औद्योगिक उत्पादन छ दशमलव चार प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ। तर सेप्टेम्बरमा भने औद्योगिक उत्पादन चार दशमलव दुई प्रतिशतले घट्ने अनुमान गरिएको छ। अर्धचालकसम्बन्धी उत्पादनमा देखिएको सुधारले जापानको औद्योगिक क्षेत्रलाई केही राहत दिए पनि यातायात उपकरणलगायतका क्षेत्रमा कायम कमजोरीले उत्पादन क्षेत्रमा अझै उतारचढावको अवस्था रहेको संकेत गरेको छ।