तीन दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग आज खुलाउने प्रयास
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि धादिङका विभिन्न स्थानमा लेदो थुप्रिँदा पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। बुधबार साँझदेखि बन्द रहेको सडक खुलाउन लेदो हटाउने काम भइरहेको छ।
गजुरी गाउँपालिका–५ को गलौदी र बाहुनी भीर तथा गल्छी गाउँपालिकाको महेश दोभानमा ठूलो मात्रामा लेदो थुप्रिएको छ। बस्ती क्षेत्रमा थुप्रिएको लेदो हटाएर अन्यत्र व्यवस्थापन गर्नुपर्ने भएकाले सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ।
बाहुनी भीरमा लेदो हटाउन आवश्यक उपकरण पुग्न बाँकी रहेकाले पहिले गलौदी र महेश दोभानको अवरोध हटाइनेछ। त्यसपछि बाहुनी भीरमा काम गर्ने तयारी छ।
प्रहरीका अनुसार आजै दिनभरमा सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित उपकरण परिचालन गरी काम भइरहेको छ। बाढीका कारण पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्ड प्रभावित भएकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।