निर्वाचन प्रणालीमा समसामयिक सुधार गर्न पूर्वनिर्वाचन पदाधिकारीको सुझाव
काठमाडौं — पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि र प्रक्रियामा आवश्यक सुधार गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा निर्वाचन आयुक्तद्वयले पदबहाली गरेपछि आयोगले निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनाबारे सुझाव लिन मंगलबार पूर्वपदाधिकारीसँग छलफल गरेको हो।
छलफलमा निर्वाचन व्यवस्थापनसँग सम्बन्धित कानुनी, प्राविधिक तथा व्यवस्थापकीय सुधारका विषयमा सुझाव लिइएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
पूर्वप्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूले आयोगको नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा आयोगले हासिल गरेको संस्थागत साखलाई थप उचाइमा पुर्याउन नेतृत्व सफल हुने विश्वास व्यक्त गरे।
उनीहरूले निर्वाचन व्यवस्थापनमा पछिल्लो समय देखिएका चुनौती सम्बोधन गर्न विद्यमान निर्वाचन विधि तथा प्रक्रियामा आवश्यक सुधार गर्नुपर्नेमा जोड दिए। सुधारका क्रममा सरोकारवालासँग निरन्तर छलफल, सूचना प्रविधिको अधिकतम उपयोग तथा पारदर्शी कार्यशैलीलाई प्राथमिकता दिन उनीहरूको सुझाव थियो।
बदलिँदो समय र निर्वाचन व्यवस्थापनका नयाँ चुनौतीअनुसार आयोगको संस्थागत क्षमता अभिवृद्धि गर्न तथा सम्बन्धित सरकारी निकाय र सरोकारवालाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन पनि पूर्वपदाधिकारीहरूले आग्रह गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्न आयोगको वर्तमान नेतृत्व सक्षम र प्रतिबद्ध रहेको बताए।
आयोगको संस्थागत सुदृढीकरण तथा निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने कार्कीले बताए।
छलफलमा निर्वाचन आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बासहित पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल र नीलकण्ठ उप्रेती सहभागी थिए।
त्यस्तै, पूर्वनिर्वाचन आयुक्तहरू प्रा. डा. वीरेन्द्रप्रसाद मिश्र, विश्वमान श्रेष्ठ, जयरामसिंह बोहरा, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलगायतको पनि छलफलमा सहभागिता थियो।
प्रमुख निर्वाचन आयुक्त कार्की तथा निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले गत साउन १५ गते पदबहाली गरेका थिए।