एसियाली खेलकुदको तयारीका लागि नेपाली पौडी टोली बैंगलरु जाँदै
काठमाडौं । आसन्न २०औँ एसियाली खेलकुदको तयारीका लागि नेपाली पौडी टोलीले भारतको बैंगलरुमा एक महिने प्रशिक्षण गर्ने भएको छ।
५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गर्नेछ। टोलीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिषेक प्रधान र इर्भिन श्रेष्ठ तथा महिलातर्फ डुवाना लामा र आर्या महर्जन रहेका छन्।
टोलीको प्रशिक्षकमा रत्नलाल महर्जन र व्यवस्थापकमा शिरीष गुरुङ रहेका छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले शुक्रबार आयोजित कार्यक्रममा बिदाइ गरेका छन्।
२०औँ एसियाली खेलकुद आगामी असोज ३ गतेदेखि सुरु हुँदैछ। त्यसअघि बैंगलरुको प्रशिक्षणले नेपाली खेलाडीलाई प्रतियोगिताका लागि तयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।