रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
रुकुम पश्चिम — रुकुम पश्चिममा आइतबार बिहान गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक झबेन्द्र परियारका अनुसार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्चाकाकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञावलीको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो।
आइतबार बिहान करिब साढे ८ बजे सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा आमा–छोरी यात्रुबाहक गाडीमा सवार थिए। उनीहरू रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट सुर्खेतस्थित घरतर्फ जाँदै थिए।
यात्राका क्रममा छोरी शान्दिकाले शौच गर्नुपर्ने बताएपछि स्वस्तिकाले गाडी रोक्न लगाएकी थिइन्। त्यसपछि छोरीलाई लिएर गाडीबाट ओर्लिएकी स्वस्तिकालाई सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे.१ ज १४८२ नम्बरको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी चौकी सिम्लीबाट प्रहरी नायब निरीक्षक धर्मबहादुर खड्काको नेतृत्वमा चार जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले गम्भीर घाइते आमा–छोरीको उद्धार गरी सानीभेरी गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल सल्ले पुर्याएको थियो।
अस्पतालमा स्वास्थ्य परीक्षणपछि बिहान साढे ९ बजेतिर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका–३ चौखेका २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार स्वस्तिका आफ्ना श्रीमान् घनश्याम ज्ञावलीलाई भेट्न छोरीसहित रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा पुगेकी थिइन्। उनका श्रीमान् त्यहाँस्थित सनराइज बैंकमा कार्यरत छन्।
आइतबार बिहान गुल्मीस्थित घर फर्किन हिँडेका आमा–छोरी घर पुग्न नपाउँदै बाटोमै ज्यान गुमाएका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।