जापान भूकम्प : मृतक संख्या २८ पुग्यो, भग्नावशेषमा उद्धार अभियान जारी
टोकियो — जापानमा गएको शक्तिशाली भूकम्पपछि उद्धारकर्मीहरूले भत्किएको सपिङ मलको भग्नावशेषबाट जीवित व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। सरकारी अधिकारीहरूका अनुसार भूकम्पबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।
अधिकारीहरूका अनुसार गत मङ्गलबार ग्यास विस्फोटपछि भत्किएको एओन सपिङ मलको भग्नावशेषबाट चार जनाको शव निकालिएको छ। उद्धार टोलीले हालसम्म १० जनालाई बाहिर निकालेको छ, जसमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने पाँच जना घाइते अवस्थामा उपचाररत छन्।
जापानको दक्षिणपश्चिमी क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको भूकम्पले सयौं संरचनामा क्षति पुर्याएको छ। आवासीय घरहरू भत्किएका छन्, पुलहरूमा क्षति पुगेको छ र हजारौं नागरिक विद्युत् तथा खानेपानी सेवाबाट वञ्चित भएका छन्।
अधिकारीहरूका अनुसार भूकम्पपछि सपिङ मल खाली गराइएको थियो। तर करिब ५० मिनेटपछि भएको ठूलो ग्यास विस्फोटका बेला केही कर्मचारी अझै भवनभित्र रहेको आशंका गरिएको छ, जसका कारण खोज तथा उद्धार अभियान जारी छ।
यसैबीच, यात्सुशिरोस्थित निप्पोन पेपर कारखानामा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य चार जना अझै बेपत्ता रहेको जनाइएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको तीव्रता ६.८ मापन गरिएको थियो। प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने जापान विश्वकै सबैभन्दा बढी भूकम्पीय जोखिम भएका देशमध्ये एक मानिन्छ।
यसअघि सन् २०१६ मा कुमामोटो क्षेत्रमा आएका दुई शक्तिशाली भूकम्पमा २७३ जनाको मृत्यु भएको थियो भने एक हजार ८०० भन्दा बढी घाइते भएका थिए। सन् २०११ मा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीले करिब १८ हजार ५०० जनाको ज्यान लिएको थियो र फुकुशिमा आणविक दुर्घटना निम्त्याएको थियो।