अमेरिकाद्वारा इरानका १० भन्दा बढी सहरमा हवाई आक्रमण, सैन्य अखडा निशानामा परेको दाबी
तेहरान/वाशिङ्टन — अमेरिकाले बिहीबार बिहान इरानका १० भन्दा बढी सहरमा हवाई आक्रमण गरेको जनाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार केश्म, किश, काजेरून, अहवाज, अबादान, शादेगान, अरवन्दकेनार, बुशेहर, जाम र खोरमोज क्षेत्रलाई निशाना बनाइएको हो।
केश्म द्वीपस्थित एक आवासीय भवनमा भएको आक्रमणमा एक दम्पती र उनीहरूका दुई वर्षीय छोराको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्। परिवारका अन्य दुई बालबालिका घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकोम) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का दर्जनौँ सैन्य संरचनामाथि कारबाही गरिएको जनाएको छ। सेन्टकोमका अनुसार कमाण्ड सेन्टर, मिसाइल तथा ड्रोन अड्डा, तटीय निगरानी तथा रक्षा केन्द्र र समुद्री सैन्य पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको हो।
आक्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि मिसाइल आक्रमण गर्ने प्रयास भएको दाबी गर्दै त्यसको जवाफस्वरूप कारबाही गरिएको बताएका थिए। सेन्टकोमले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैनिक, व्यापारिक जहाज तथा क्षेत्रीय साझेदारहरूको सुरक्षा सुनिश्चित गर्न सैन्य कारबाही गरिएको जनाएको छ।
सेन्टकोमका अनुसार सैन्य अभियान सम्पन्न भइसकेको छ। सामाजिक सञ्जाल एक्समार्फत बिहीबार बिहान इरानविरुद्धको कारबाही सुरु गरिएको जानकारी सार्वजनिक गरिएको थियो।
इरानको केश्म द्वीपमा भएको आक्रमणमा एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ। फार्स समाचार एजेन्सीका अनुसार दम्पती र उनीहरूका दुई वर्षीय बालकको ज्यान गएको हो भने सात र नौ वर्षका अन्य दुई बालबालिका घाइते भएका छन्।
मध्यपूर्व मामिलाका विश्लेषकहरूका अनुसार हालको अमेरिकी रणनीति इरानको सम्पूर्ण सैन्य क्षमता ध्वस्त पार्नुभन्दा उसमाथि दबाब सिर्जना गर्ने र मनोवैज्ञानिक प्रभाव बढाउनेतर्फ केन्द्रित देखिन्छ।
विश्लेषकहरूको भनाइमा निरन्तर हवाई आक्रमणले होर्मुज जलडमरूमध्यमा इरानको गतिविधिमा केही प्रभाव पार्न सक्ने भए पनि त्यसको परिणाम निश्चित छैन। साथै, इरानले आफ्ना सैन्य संरचना र हतियार विभिन्न स्थानमा फैलाएर राखेकाले सीमित हवाई आक्रमणबाट ठूलो क्षति पुर्याउन कठिन हुने आकलन गरिएको छ।
उनीहरूका अनुसार यदि अमेरिका इरानको सैन्य क्षमता उल्लेखनीय रूपमा कमजोर बनाउन चाहन्छ भने लामो समयसम्म व्यापक सैन्य अभियान सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्छ। हालको कारबाही भने त्यस स्तरको नरहेको विश्लेषण गरिएको छ।