शिव शिखर सहकारीका थप ५६ बचतकर्ताले पाए बचत फिर्ता
काठमाडौं — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ५६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार हालसम्म शिव शिखर सहकारीका करिब एक हजार ४०० जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाइसकेका छन्। पहिलो चरणमा न्यून बचत भएका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको र आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमशः भुक्तानी गरिने जनाएको छ।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाट नै बचतकर्ताको रकम फिर्ता गर्ने कार्य भइरहेको स्पष्ट पारेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रचलित कानुनी व्यवस्थाअनुसार समस्याग्रस्त घोषित सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई निरन्तर फिर्ता गर्ने प्रक्रिया जारी रहेको जनाएको छ।