सुनसरी घटनाको विरोधमा आमरण अनसन
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव बिहीबारदेखि काठमाडौँमा आमरण अनसनमा बसेका छन् ।
यसअघि सरकारलाई दिइएको २४ घण्टे अल्टिमेटमभित्र कुनै ठोस पहल नभएको भन्दै यादवले आमरण अनसन सुरु गरेको राष्ट्रिय एकता दलले जनाएको छ ।
अनसनस्थलमा सुनसरी घटनामा ज्यान गुमाएका युवाको तस्बिर राखिएको थियो भने घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग गरिएको थियो ।
सहभागीहरूले सरकारले घटनालाई सामान्य रूपमा लिन खोजेको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ ।
अनसन सुरु गर्दै अध्यक्ष विनय यादवले सरकारले आफ्ना मागहरूलाई बेवास्ता गरेको आरोप लगाउँदै न्याय प्राप्त नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । उनले सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।
राष्ट्रिय एकता दलले सरकारसमक्ष राखेका मागहरूमा मृतकलाई सहिद घोषणा, घाइतेलाई उपचारलगायतका माग रहेका छन्। यी मागहरू पुरा गराउन अध्यक्ष यादवले अनसन सुरु गरेका छन्।